" वाचम्यान टु क्वाटर अर्बपति " -एक आत्मकथा
"खबरदार ! कल से तेरा मुंह हम इस इलाकेमे देखना नहिं चाहते।" ति लुटेराहरुले बन्दुक तेर्साउदै मलाइ भने। छांङ्गाबाट खसे जस्तो भान भयो। दुइ हात उठाएर सरेन्डर गरे। ति लुटेराहरु आफ्नो दैनिकि सकेर आफ्नो बाटो लागे। ठुलो कालबाट जोगिएको भान भयो त्यो दिन। ठुलो दशा काटिएको महसुस भयो।
"साला ! अरुको देशमा जिवन-मरण बीचको तरवारको धारमा बाच्नु भन्दा त आफ्नै देशमा गएर हलो जोतेर खान्छु", त्यसै बखत मैले मनमनै गरेको ढृढ निर्णय थियो यो।
वि.स २०५१-५२ तिरको कुरा हो, सामान्य खेति किसानि गरेर घर जेनतेन चलिरहेको थियो। रोजगारीका लागि गाउँबाट भारत जानेको लर्को बढ्दो थियो। म पनि रोजगारीको खोजिमा भारत पसेँ। गएको केहि दिनमै त्यहा बन्दै गरेको एक मकानमा चौकिदारको जागिर पाएँ। त्यसबखत त्यो ठाउँमा निकै चोर र लुटेराहरुको विग्वीगि रहेछ। त्यहाँको कन्स्ट्रक्सनमा प्रयोग हुने रड, सरिया, सिमेन्टी, बिजुलीका तार, इत्यादिको रेखदेख गर्ने मेरो मुख्य जिम्मेवारी थियो। चौकिदारिको १६औं रातको त्यस घटनाले मलाइ मृत्यु सामु पुगेर फर्कन सकेको महसुस गरायो। दोस्रो जिवन पाएको भान भयो। भोली पल्टै, अर्थात; भारत टेकेको १७औं दिनमा म आफ्नै देश फर्किएँ।
कठिन पारिवारिक परिस्थितीहरुका बावजुद मैले सर्टिफिकेट लेभल अर्थात एस.एल.सि पार गरिसकेको थिएँ। त्यसै कागजको खोस्टाको झिनो भरोसामा म गाउँकै स्थानिय विध्यालयमा पुगेँ र भाग्यवस मेरो करारमा नियुक्ति भयो। मैले त्यहाँ गणित विषय अध्यापन गर्न सुरु गरेँ। मासिक सात सय चालिस रुपैयाँ थियो मेरो तलव। सामान्य जागिर खाएर जिवनमा सम्पत्ति जोड्न र धन आर्जन गर्न सकिदैँन भन्ने कुरा मैले मेरो अध्यापन जिवनको केहि समयमै महसुस गरे। अन्ततः मैले अध्यापन पेशालाई त्यहीँ बिट मारे।
केहि दिनको गहिरो सोच र सल्लाह पछि म र मेरी श्रीमतीको योजना अनुसार गाउँमै आफ्नो पूँजीले भ्याउने व्यापार स्थापना गर्ने निधो गऱ्यौ। अध्यापन गर्दाको केहि पैसा, केहि बचत गरेको पैसा र मेरि श्रीमतीले संकटका बेलामा चाहिन्छ भनेर थाहै नदिइ बचत गरेर राखेको नौ सय रुपैयाँले घरमै भएको एउटा सानो हरियो रंगको काठको दराजमा हामीले पसल सुरु गऱ्यौ। चिनी, चियापत्ति, चकलेट, चाउचाउ, दालमोठ, चुरोट र अन्य केहि घरयासी सामग्रीहरु राखेर हामीले पसल सुचारु गरेका थियौ। गाउँमा भएका कारण पसलबाट धेरै व्यापार हुने हामीले आशा पनि गर्न सक्दैनथ्यौ। तर त्यस पसलले हामीमा व्यापारीक मनोबलको स्तम्भ खडा गरेको भने पक्कै हो।
पसलको मात्रै कमाइले नपुग्ने हुदाँ गाई वस्तु पाल्ने, सिजन अनुसारको खेति र जग्गा अधियाँ लिएर सिजने बाली पनि धेरै साल लगाउने गऱ्यौ। कतिपय बेलामा त भारतिय सिमा नजिकै भएका कारण भारत गएर साइकल पछाडि चिनि र अन्नका बोरा ल्याएर बुधबारे मेलामा स-साना प्याकेट बनाएर बेच्यौँ पनि। घरबाट अलिकत टाढा (लगभग २० कि.मी टाढा) सिनेमा हलको प्राङ्गणमा पान दुकान चलाउँदाको क्षण अझै पनि ताजा नै छ यो मस्तिस्कमा। सिनेमाको हाल्फ टाईम हुना साथ चलचित्र हेर्न आएका मानिसको हुल आफ्नो दुकानतर्फ आउदै गर्दाको खुशी त यतिबेलाको स्थायी व्यापारले दिने सन्तुष्टि भन्दा पनि धेरै हुन्थ्यो जस्तो लाग्छ। यि सबै अतीतका दिनहरु सम्झिदा त लाग्छ कि मिहिनेत गर्न कुनै पल पनि बाँकी छाडेनौ हामीले सायद।
समय बित्दै गयो, मिहिनेत र परिश्रमको फल स्वरुप केहि रकम संकलन गर्न पनि सफल भयौँ। अलिकति पैसाले सय सि.सि को सेकेण्ड ह्यन्ड आर-एक्स बाइक किनेँ। साथमा अलिकति बचत गरेको पैसा अनि बढ्दो व्यापारीक मनोबलले मलाई यस व्यापार वृद्धि गर्नुपर्छ भन्ने अठोट र महत्वाकांक्षा बढ्न थाल्यो। मनमा व्यापार वृद्धि गर्ने योजना भएता पनि कुन स्वरुपमा व्यापारलाई लैजाने भन्ने कुरामा म प्रस्ट थिइन।
"नेपालको भुगोल र यहाँको बजार माग नबुझि म कसरि सफल व्यापारी बनुला र?" भन्ने प्रश्नले त्यस बखत मलाई अत्यन्तै सतायो।
अनि म मनमा ठुलो सपना, आशा र गहिरो अठोटका साथ एउटा झोलामा केहि लतालुगा र उहि मेरो पुरानो साथि आर-एक्स हन्ड्रेडलाई लिएर घरबाट निस्किएँ। करिब तिन महिनाको त्यो भ्रमणमा म नेपालको तराइ र पहाडका अधिकांश जिल्लाहरु भ्रमण गरे। हरेक ठाउँको वस्तुस्थिति बुझ्ने प्रयत्न गरेँ। त्यहाँको व्यापारिक माहोल बुझ्ने भरपुर कोशिश गरेँ। घाम पानी केहि नभनि निरन्तर लागिरहे त्यो तिन महिना। तत्कालीन साना देखि ठुला विभिन्न फुड इन्डस्ट्रिजका साहुहरुसंग मुलाक़ात भयो। उनिहरुको मुखारविंदुबाट व्यापारिक माहोलको वस्तुस्थिति बुझ्ने मौका मिल्यो। पहिल्यै बाट कृषि र त्यसका उत्पादनमै रुचि भएका कारण मैले यस क्षत्रलाई निकै इन्ट्रेस्टका साथ बुझ्न कोशिश गरेँ।
अन्ततः एउटा बलियो निष्कर्ष सहित त्यो तिन महिने भ्रमणलाई त्यहिँ बिट मारे। भ्रमणको निष्कर्ष अनुरुप मैले खाद्यान्न सम्बन्धित नै व्यापार गर्ने निधो गरे।
सुरुवाति दिनहरुमा गाउँघरमै उत्पादन भएका धान, गहुँ, मकै, भट्मास, आदि खाद्यान्नहरु किसानहरुबाट खरिद गरि बजारमा लिजमा लिएको दुइ कोठाको गोदाममा स्टोर गर्थेँ। केहि समयमा पर्याप्त मात्रामा जम्मा भएपछि छिमेकी जिल्लाहरु स्थित राइस मिल, मैदा मिल, दाना फ्याक्ट्रि आदिमा बेच्ने गर्थे। बिस्तारै बजारको तेजि-मन्दिसंग घुलमिल हुन थाले। यो व्यापार मेरा लागिनै हो भन्ने महसुस हुदै व्यापारसंगको आत्मियता बढ्न थाल्यो। समय बित्दै गयो, व्यापारमा पनि राम्रो हुदै थियो। अग्रज दाजुभाइ तथा बन्दुहरुको पनि साथ मिल्यो जसले गर्दा व्यापारमा अझ हौसला बढेको महसुस भयो। म सम्झन चाहेँ तत्कालीन वाणिज्य बैंकका हाकिमलाई जसले भर्खरै उम्रदै गरेको एक कम्पनिलाई विश्वास गरिदिनु भयो। आज भन्दा २२ साल पहिले कुनै बैंकले रु. पाँच लाख पत्त्याउनु मेरा लागि निकै ठुलो पूंजी थियो।
यसै बिचमा जनयुद्ध, राजनीतिक अस्थिरता र विभिन्न आर्थिक मन्दिहरुले व्यापारलाई बेला बखतमा प्रभाव भने पारेकै थियो। कहिले आरोह त कहिले अवरोह, कहिले नाफा त कहिले घाटा, कहिले उकाली त कहिले ओरली गर्दै २५ आर्थिक वर्षहरु बीतेको पनि पत्तै भएन।
यस बिचमा गाउँबाट परिश्रम सुरु गरेको केटो अहिले नेपालको मुटु मानिने केहि शहरहरुमा आफ्नो वासस्थान बसाउन सफल भयो। यस बिचमा दराजको फलेकमा समान राखेर बेच्न सुरु गरेको ठिटो अहिले दशौं हजार कुइन्टल क्षमताको वेरहाउस स्थापना गर्न सफल भयो। यस बिचमा उसले आफ्नो उच्च शिक्षा अध्ययन गर्ने सपना पुरा नभए तापनि आफ्ना सन्तानलाई विश्व विख्यात युनिभर्सिटिहरुमा पठनपाठन गराउन सफल भयो। यस बिचमा उसंग केहि नहुदाँको समय देखि उसले चाहेको र देखेको अधिकांश सपनाहरु पुरा हुँदासम्मको समयको यात्रा उसले तय गर्यो। यस बिचमा उसले शून्यबाट सुरु गरि प्रत्यक्ष-अप्रत्यक्ष गरि दैनिक बीस देखि पचास जनालाई रोजगारी दिन सफल भयो। म एक नेपाली उद्यमी हुँ र यो मेरो जिवनको आत्मकथा हो। जिवन सिकाइ हो र निरन्तरको सिकाइले नै जिवनमा सफलता हात पार्न सकिन्छ भन्ने कुरालाई मैले सधैं जिवनमा अँगालीरहेँ। अझै पनि मेरो सिकाइ निरन्तर जारी नै छ। यत्रो उत्तरचढावले भरिएको मेरो जिवनलाई घाम-पानी केहि नभनी अहोरात्र साथ दिने मेरि जिवनसाथी प्रति म निकै नै आभारी छु। मेरो जिवनको हरेक सफलता पछाडि उनको निकै ठूलो हात छ। उनिप्रति आभार प्रकट गर्नका निम्ति शब्दकोशमा भएका कुनै पनि शब्द पर्याप्त छैनन् जस्तो लाग्छ।
यो यात्रा कठिन थियो तर असम्भव भने पक्कै थिएन। जिवनमा आवश्यकता र चाहना बिचको भिन्नता राम्रो संग बुझेका हामीले कयौं कठिनाईहरुको खोचबाट यात्रा तय गर्दै जिवनलाई सेफ ल्याणीङ्गको डिरेक्सनमा लैजान सफल भयौँ जस्तो लाग्छ। यस यात्रामा हामीलाई साथ र हौसला प्रदान गरिदिने सम्पूर्ण अग्रज व्यक्तित्व, साथिभाइ, आफन्तजन र सबै परिवारजनहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै सबैमा न्यानो सम्झना व्यक्त गर्न चहान्छु।
अन्ततः आफ्नो अमुल्य समयको बावजुद मेरो यस आत्मकथा पढ्नुहुने सबै पाठकहरु प्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्न चहान्छु।
-Lovingly written by a proud son