" मेरो नजरबाट नेपालको पूँजी बजार "
-जोखिम र अवसरका तरङ्गहरु

विगत दुई वर्ष देखि यताको नेपालको पूँजी बजारमा आएको उछाल र गिरावट, यसका कारण, विविध सेक्टरमा आएका उछाल र तिनको अहिलेको बजार मूल्य अनि अवस्थाको बारेमा आफ्ना केही अनुभव अनि विचार पस्किन मन लाग्यो। म पूँजी बजारको एक अविरल शिक्षार्थी हुॅ। मेरा विचार अनि विश्लेषणमा केही सुधार गर्नुपर्ने ठाउँ अनि त्रुटिहरू पक्कै होलान् , तपाईँ पाठकहरूको प्रतिक्रियाबाट नै मलाई आफ्नो विचारहरूलाई निखारेर अगाडिका दिनहरूमा अझ अध्ययनशिल बन्न प्रेरणा मिल्नेछ। त्यसैले, तपाईँहरूको कुनै पनि प्रतिक्रिया म सहर्ष स्वीकार्ने बाचा राख्दछु।

ठीक आज भन्दा दुई वर्ष अगाडि ; १६ August, २०२० को दिनलाई मेरो आर्टिकलको एक आधार विन्दु मानेर तलाका डाटाहरू दुई चरणमा ब्याख्या गरेको छु ।

१. आरोह :
१६ August, २०२० देखि १८ August, २०२१ सम्ममा केही मेजर सेक्टरमा आएका उछाल र तिनका बजार मूल्यमा भएको वृद्धि यस प्रकार छन् :

‍‍‍ सेक्टर-- % वृद्धि
•नेप्से-- १३०.०६%
•बैङ्किङ्ग-- ८१.८६%
•डेभलपमेन्ट बैँक-- २८२.३३%
•फाइनान्स-- ४११.७८%
•हाइड्रोपावर-- ३२३.४१%
•इन्स्योरेन्स-- १३३.३५%
•माइक्रो फाइनान्स-- १६३.४१%
•ट्रेडिङ-- ४९३.७२%

२. अवरोह :
१८ August, २०२१ देखि १६ August, २०२२ सम्ममा केही मेजर सेक्टरमा आएका गिरावट र तिनका बजार मूल्यमा आएका ह्रास यस प्रकार छन्:

सेक्टर-- % ह्रास
•नेप्से-- ६०.३५%
•बैङ्किङ्ग-- ६१.३६%
•डेभलपमेन्ट बैँक-- ७५.४३%
•फाइनान्स-- ९६.८०%
•हाइड्रोपावर-- ६७.०१%
•इन्स्योरेन्स-- १०१.३१%
•माइक्रो फाइनान्स-- ३१.८४%
•ट्रेडिङ-- १३२.५९%

माथि प्रस्तुत दुई बर्से आरोह र अवरोहमा मेरो धारणा :
बैङ्किङ्ग सेक्टर, जसले बजारमा सबै भन्दा ठूलो हिस्सा ओगटेको छ, सुरुवाती आरोहमा नेप्से १३०.०६% ले वृद्धि हुँदा यसमा जम्मा ८१.८६% मात्र वृद्धि भएको देखिन्छ। तर नेप्सेले उच्चतम विन्दु चुमेपछिको अवरोहमा नेप्सेमा ६०.३५% ले ह्रास आउदा समग्र बैङ्किङ्ग सेक्टरमा भने ६१.३६% ले ह्रास आएको देखिन्छ।

यसरी बजारको वृद्धि सँगसँगै बैङ्किङ्ग सेक्टरको उल्लेखनीय वृद्धि हुन नसक्नु तर बजारमा ह्रास आउदा बैङ्किङ्ग सेक्टरमा अझ धेरै ह्रास आउनु एक निराशजनक कुरा हो। यसले बजारमा आम लगानीकर्ताको सेन्टिमेन्ट कुन दिशातिर गइरहेको छ भनेर पनि बुझ्न सकिन्छ। यसपटकको बुलमा बैङ्किङ्ग सेक्टर ओझेलमा परेको हो भन्दा म गलत हुँदिन शायद। बजारमा नयाँ लगानीकर्ताको प्रवेश सँगै आएको त्यो एक बर्से एक्सट्रिम बुलमा दीर्घकालिन लगानीकर्ता भन्दा सर्ट टर्म ट्रेडर्स हावि भएको कुरा हामीले नकार्न सकिँदैन यद्यपि ट्रेडर्स बजारका अभिन्न अङ्ग हुन् जसले दैनिक भोल्युमका साथ बजारलाई थप उर्जा प्रदान गर्दछन् ।

• अर्कातिर डेभलपमेन्ट बैँक, फाइनान्स, ट्रेडिङ ,हाइड्रोपावर जस्ता बजारमा तुलनात्मक रुपमा थोरै हिस्सा ओगटेका कम्पनीहरूलाई भने यसपटकको बुलले निकै पत्याएर निकै माथि सम्म उछिट्टयाएको देखिन्छ। बजारमा रौनकता छाउँनु अनि बजारमा लिस्टेड हाम्रा कम्पनीहरूले नयाँ नयाँ उचाई कायम गर्नु आफैंमा एक स्वागतयोग्य कुरा हो। यद्यपि, बजारको बढोत्तरी नियाल्दा बजारमा साक्षर लगानीकर्ताको कमी भएको कुरा हामीले नकार्न भने पटक्कै सक्दैनौँ। साक्षर लगानीकर्ता ती हुन् जसले वास्तविक रुपमा बजारको तत्कालीन परिस्थिति, मुलुकको अर्थतन्त्रका सूचक, प्रपर टेकनिकल एनालेसिस (ट्रेडर भएको खण्डमा) , कम्पनीको विस्तृत विवरण आदि कुराहरू अध्ययन गरेर लगानी गर्दछन्। बुलिस फेजमा जसरी यि कम्पनीहरूको सेयर मूल्यमा उछाल आएको थियो, पछिल्लो एक वर्षको गिरावटमा त्यसरी नै भारी गिरावट आएको पनि देख्न सकिन्छ । यसले अहिले ठूलो संख्यामा लगानीकर्ताहरू बुलिस ट्र्यापमा परेको देखिन्छ। यसले लगानीकर्तालाई एउटा राम्रो सन्देश पनि दिएको छ कि बजारमा आफ्नो लगानी अरू कसैले नभई लगानीकर्ता स्वयम् आफैले सुरक्षित बनाउनुपर्छ भन्ने मूल पाठ सिकाएको छ।

2079-04-31